Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


नेपाल इन्जिनियरिङ कलेजमा खेलकूद सप्ताह सुरु

एक्सन खबर
जेठ, २९, २०७९


नेपाल इन्जिनियरिङ कलेजमा खेलकूद सप्ताह सुरु

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजमा खेलकूद सप्ताह सुरु भएको छ । आजबाट सुरु भएको खेलकूद सप्ताह नेपालका प्रमुख अतिथि किर्तिमान पदकधारी म्याराथुन खेलाडी बैकुण्ठ मानन्धर, कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ लगायतले उद्घाटन गरेका छन् ।

कलेजको खेलकुद मैदानमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानन्धरले खेलकुदले विद्यार्थीलाई शारिरीक मानसिक विकासमा टेवा दिने बताए । शिक्षासँगै खेलकुद अपरिहार्य भएको बताउँदै मानन्धरले पढाईसँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभाहरुलाई प्रस्फुटन गर्न गराउन खेलकुद सप्ताह फलदायी हुने बताए ।

विद्यार्थीहरुले कलेजलाई सानो कमजोर ठान्ने गरेको इङिगत गर्दै कुनैपनि कलेजहरु ठूलो सानो भनेर नहुने बताए । सबै कलेज तथा त्यहाँ रहेका शिक्षकहरु अब्बल रहेको भन्दै शिक्षकहरु सदैव शिक्षक रहने तर विद्यार्थीहरु विश्वविद्यालयको उपकुलपति तथा ठूल्ठूला पदमा पुग्ने बताए । ‘शिक्षकहरु शिक्षक नै रहन्छन् तर, विद्यार्थीहरु उपकुलपति तथा विभिन्न ठूला पदमा पुग्छन् ।’ मानन्धरले भने ।

विद्यार्थीहरु भोलीका दिनमा ठूलो ठाउँमा पुगेपनि असल नागरिक हुनु ठूलो कुरा रहेको जिकीर गर्दै मानन्धरले भने‘–तपाईहरु राम्ररी पढेर ठूलो मान्छे बन्नुहोला त्योसँगै असल मान्छे पनि बन्नुहोस्, भ्रष्टाचार नगर्नुहोला ।’ आफ्नो सफलतामा शिक्षकहरुको ठूलो योगदान रहेको मानन्धरले चर्चा गरे ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले मेन्टल फिटनेस र फिजिकल फिटनेश एक अर्काको परिपुरक भएकाले कलेजले विद्यार्थीको शारिरीक तथा मानसिक विकासको लागि समयसमयमा खेलकुदका कार्यक्रम गर्दै आएको बताए ।

अमेरिका, जापान जस्ता विकसित देशमा फिजिकल फिटनेसलाई महत्वका साथ राखिएको बताउँदै नेपालमा नेपालको शैक्षिक प्रणालीले किताबी पढाईलाई मात्र प्राथमिकता दिएको चर्चा गर्दै भने‘–हाम्रोमा फिजिकल फिटनेसलाई कम प्राथमिकता दिएर धेरैजसो पढाईमा बढी ध्यान दिनुपर्ने भनिएको छ तर, त्यसो हैन । विद्यार्थीलाई फिजिकल फिटनेस र पाठ्यक्रमलाई सँगसँगै लैजानु अपरिहार्य भएकोले कलेजले वार्षिकरुपमा खेलकुद सप्ताह गर्ने, सेमेस्टर तथा कक्षागत रुपमा समेत अतिरित्त, कृयाकलाप गर्ने गरेको छ ।’ डा. श्रेष्ठले कलेजको श्रोत साधानले भ्याएसम्म यस्ता कार्यक्रम हरु गरिरहने जनाए ।

वार्षिक खेलकुद सप्ताह कार्यक्रमका संयोजक सचिन श्रेष्ठले विद्यार्थीहरुमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन कलेजले खेलकुद सप्ताह आयोजना गरेको बताए । एक सातासम्म चल्ने कार्यक्रममा फुटवल, बास्केटवल, भलिवल, ब्याटमिन्टन लगायत १५ वटा विधाका खेलकुदहरु हुने जानकारी दिए ।

सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भइ पोखरा विश्वविद्यालयबाट सम्बन्ध दिएर गैरनाफामुलक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहका कार्यक्रमहरु सञ्चालित रहेका छन् ।



















0 प्रतिकृया