भारतीय फुटबललाई अनिश्चितकालिन प्रतिबन्ध
एक्सन खबर
काठमाडौं, ३० साउन । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो ।
संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाब नभएपछी फिफाले प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।
यो प्रतिबन्धपछि भारतमा आयोजना तय भएको यू १७ महिला विश्वकप पनि नहुने भएको छ । प्रतियोगिता यही वर्षको अक्टोबर ११ देखि ३० सम्म हुने कार्यक्रम थियो । फिफाले आफू उच्च भारतीय खेलकुद पदाधिकारीसँग सम्पर्कमा रहेको र चाँडै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेकाे छ ।
प्रतिबन्धका कारण भारतमा हुने कुनै पनि घरेलु प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को मान्यता हुने छैन । यस्तै भारतको राष्ट्रिय टिमले पनि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन ।
0 प्रतिकृया