याे सरकारले विकास, शुसासन र कानुनी राज्यलाई तहस नहस बनायो, मंसिर ४ गते विदा गर्नुपर्छः भगवती चौधरी
एक्सन खबर
सुनसरी, ५ भदौ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) लाई प्रष्ट बहुमत आउने गरी परिचालित हुनुपर्ने नेतृ भगवती चौधरीले बताएकी छिन् । आइतबार सुनसरी क्षेत्र नं. ३ (क) का नेता तथा कार्यकर्तालाई चुनाबी प्रशिक्षण दिँदै नेतृ चौधरीले घोषित निर्वाचनमा प्रष्ट बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताइन् ।
२०७४ सालको निर्वाचनमा जनताले तीनै तहमा कम्युनिस्ट पार्टीको सरकार गठन गरिदिए पनि सत्तास्वार्थ तथा देशी विदेशीको स्वार्थका कारण जनादेशको अवमुल्यन गर्दै सरकार ढाल्ने खेल भएकैले केपी शर्मा ओलीले बाध्य भएर संसद विघटन गर्नुपरेको चौधरीले जिकीर गरिन् । अहिलेको बर्तमान परमादेशी गठबन्धन सरकारसँग जनताका सवालमा कुनै लक्ष्य, भिजन नभएको दावी गर्दै सत्ता केन्द्रीत स्वार्थले मुलुकको विकास, शुसासन र कानुनी राज्यलाई तहस नहस बनाएको चौधरीको दावी छ ।
‘बर्तमान गठबन्धन सरकारको जनताप्रति कुनै कार्यक्रम छैन, भ्रष्टाचार मौलाएको छ, भ्रष्टहरुको संरक्षणमा सरकार सतिसाल जस्तै खडा भएको छ । मुलुकको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्ने अवस्थामा पुगेको छ । तर, राज्यसत्तामा रहेकाहरुलाई त्यसको हेक्का छैन ।’ लक्ष्यहिन गठबन्धनले देशको भलो नगर्ने भएकोले मंसिर ४ गतेको निर्वाचनमा ५ दलीय गठबन्धनलाई परास्त गर्नुपर्ने नेतृ चौधरीले बताइन् ।
केपी शर्मा ओलीको साँढे तीन वर्षे सरकारले कोरोना महामारी र लकडाउनका वावजुद संघीयता कार्यान्वयन, विकासका आयोजनाहरु अगाडी बढाउन र मुलुकलाई आर्थिक विकासमा अगाडी बढाउन धेरै काम गरेको जनाउँदै चौधरीले अबको निर्वाचनमा पुनः नेकपा एमालेलाई पहिलो पार्टी बनाएर विगतमा बाँकी रहेका अधुरा कामहरु पुरा गर्नुपर्ने प्रष्ट्याइन् ।
चौधरीले मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले एक्लै गठबन्धन विरुद्ध चुनाबी मौदानमा उत्रने बताउँदै जनताकै लागि राजनीति गरेको भन्नेहरुसँग गठबन्धनको औचित्य पुष्टी गर्ने आधार नभएको पनि बताइन् । ‘गठबन्धन सरकार के का लागि कहिले सम्मका लागि उहाँहरुसँग ठोस जवाफ छैन । जनता र मुलुकलाई बन्दी बनाएर व्यक्तिगत स्वार्थ पुरागर्न सत्ताको दुरुपयोग गर्नेहरुलाई मंसिर ४ गतेको निर्वाचनबाट समाप्त पार्ने गरी गाउँगाउँमा जान म तमाम नेता कार्यकर्ताहरुलाई आग्रह र अनुरोध गर्न चाहन्छु ।’ नेतृ चौधरीले भनिन् ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका जिल्ला, क्षेत्र र नगरका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
0 प्रतिकृया