मुगुका जनप्रतिनिधिहरुले बल्ल पेस गरे निर्वाचन खर्च विवरण
एक्सन खबर
खड्क सुनार
मुगु, ७ भदौ । कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुका चारवटै स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरणमा ढिला गरी पेश गरेका छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा निर्वाचित जनप्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ ।
तर मुगुका जनप्रतिनिधीले निर्वाचन खर्च विवरण ढिलाइ गरेर निर्वाचन कार्यालयमा बुझाएका हुन् । निर्वाचन खर्च विवरण ढिला गरी जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ्ग गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल २३३ पदका लागि ७०९ जनाले प्रतिस्पर्धा गरेका थिए । ती उम्मेदवार मध्ये १०१ जनाले मात्र खर्च विवरण बुझाएको र ६०८ जनाले खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले बताए ।
उनका अनुसार बुझाएका १०१ जना मध्ये आयोगले तोकिएकै समयमा निर्वाचन खर्च विवरण बुझाउनेमा मुगुम कार्मारोङ्ग गाउपालिकाको उपाध्यक्ष पदका उम्मेदवार गुरु स्याङग्याप लामा लगायत ४ जना र अन्य ९६ जनाले विलम्ब पेस गरेको बढुवालको भनाइ छ । विलम्व पेश गर्ने जनप्रतिनिधिहरुले आयोगलाई स्पष्टीकरण पेस गर्नु पर्ने छ ।
छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम ४ लाख , उपमेयर ऐश्वर्या मल्लले २ लाख २५ हजार खर्च विवरण पेस गरेको निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
यस्तै खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाही ८८ हजार ५ सय, उपाध्यक्ष सरिता रोकाया ४ लाख, मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा २ लाख ७१ हजार ५ सय, उपाध्यक्ष छिरिङ पुटि लामा २ लाख ८१ हजार ५ सय, सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाही ३ लाख २१ हजार ५ सय र उपाध्यक्ष केशर जंग शाहीले २ लाख ५२ हजार ५ सय रुपैयाँ निर्वाचन खर्चको विवरण पेस गरेको सूचना अधिकारी बढुवालले अवगत गराए ।
निर्वाचन खर्च विवरण बुझाउने भोलि अन्तिम दिन भएसँगै निर्वाचन कार्यालयमा जनप्रतिनिधिको खर्च विवरण बुझाउनको लागि दौडधुप चलिरहेको छ ।
आयोगले तोकिएको समयमा विवरण बुझाउने र नबुझाउने उम्मेदवारहरुको छुट्टाछुट्टै सूची तयार गरी कारबाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्देशन गरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
0 प्रतिकृया